नेपाल आयल निगमले काठमाण्डौ उपत्यकामा आज २८ हजार ८४२ वटा खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गर्दैछ।
मध्यपूर्वमा देखिएको तनावका कारण ग्यास अभाव हुन सक्ने त्रासले उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सञ्चय गरेपछि बजारमा वितरण प्रक्रिया असहज बनेको हो।
यसै समस्यालाई मध्यनजर गर्दै सातवटा कम्पनीमार्फत ठुलो सङ्ख्यामा ग्यास बजारमा पठाइएकाले उपभोक्तालाई आफ्नो नजिकैको डिपोमा सम्पर्क गर्न निगमले सूचित गरेको छ। यद्यपि, बजारमा अझै पनि ग्यासको अभाव कायम देखिएकाले निगमले हाल आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था मिलाएको छ।
ग्यासको यही कृत्रिम अभावलाई मौका छोपेर कालोबजारी, मूल्य वृद्धि वा मौज्दात लुकाउने जस्ता गैरकानुनी कार्यहरू भइरहेकोप्रति वाणिज्य विभागले गम्भीर चासो देखाएको छ।
यस्ता गतिविधि फेला परेमा वा कसैले बढी मूल्य असुल गरेमा तुरुन्तै पैसा नलाग्ने फोन नम्बर ११३७ मा जानकारी दिन विभागले सर्वसाधारणमा अनुरोध गरेको छ। साथै, सबै ग्यास उद्योगी र वितरकहरूलाई प्रचलित कानुन पालना गर्दै स्वच्छ व्यवसाय गर्न र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन विभागले कडा चेतावनी समेत दिएको छ।
