काठमाडौं — उपत्यकाको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा परिचित सेतो मच्छिन्द्रनाथ (जनबहाः यः) रथयात्रा आज परम्पराअनुसार भव्य र व्यवस्थित रूपमा सञ्चालन हुने भएको छ। रथयात्रा व्यवस्थापन समितिले पत्रकार विज्ञप्ति जारी गर्दै आवश्यक तयारी पूरा भएको जानकारी दिएको छ।
स्थानीय रूपमा “जनबहाः द्यः” भनेर सम्मान गरिने सेतो मच्छिन्द्रनाथलाई बौद्ध परम्परामा आर्य अवलोकितेश्वरको अवतार तथा हिन्दू परम्परामा करुणा र सहअस्तित्वको प्रतीकका रूपमा पूजा गरिन्छ। सयौं वर्षदेखि मनाइँदै आएको यो जात्रा मल्लकालीन इतिहाससँग जोडिएको छ र हिन्दू–बौद्ध सांस्कृतिक समन्वयको उत्कृष्ट उदाहरण मानिन्छ।
यस वर्ष रथयात्रा चैत्र १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ। चैत्र १२ गते साँझ ५ बजे तिनधारा पाठशालाबाट सुरु भई असनसम्म पुग्नेछ। त्यसैगरी, चैत्र १३ गते असनबाट हनुमानढोका, चैत्र १४ गते हनुमानढोकाबाट लगनसम्म रथयात्रा हुने कार्यक्रम तय गरिएको छ। चैत्र १६ गते मच्छिन्द्र बहालमा देवता विराजमान भएपछि जात्रा समापन हुनेछ।
चैत्र १२ गते साँझ ९ बजे राष्ट्रपतिद्वारा असनमा पुगेर सेतो मच्छिन्द्रनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको छ।
रथयात्रालाई व्यवस्थित बनाउन विभिन्न संघ–संस्था र क्लबहरूको सहभागितामा नीलकाजी शाक्यको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। समितिले विभिन्न उपसमिति गठन, स्वयंसेवक परिचालन, रथयात्रा मार्ग निरीक्षण तथा सरोकारवाला निकायसँग समन्वय जस्ता तयारी पूरा गरेको जनाएको छ।
काठमाडौं महानगरपालिकाको पहलमा सुरक्षा निकाय, प्रशासन र अन्य संस्थासँग समन्वय बैठक सम्पन्न भइसकेको छ। रथ निर्माण कार्य सुरु भइसकेको छ भने यस वर्षदेखि रथ निर्माणमा संलग्न कामदारहरूको पारिश्रमिक वृद्धि गरिएको जानकारी दिइएको छ।
रथयात्रामा संस्कृति मन्त्री, सांसदहरू, महानगरका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहनेछ। साथै गुरुजु पल्टन, नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको सहभागिता पनि रहनेछ।
ट्राफिक, सुरक्षा, फुटपाथ तथा विद्युत व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको छ। नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहकार्यमा पर्यटकका लागि जामे मस्जिद परिसरमा अवलोकन स्थलको व्यवस्था गरिएको छ।
व्यवस्थापन समितिले सम्पूर्ण भक्तजन, स्थानीयवासी, संघ–संस्था तथा सञ्चारकर्मीलाई रथयात्रामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ। साथै, जात्राको क्रममा अनुशासन र सुरक्षा मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरिएको छ।
