सरकारले विद्यालय तथा उच्च शिक्षाका लागि सञ्चालन गरिने प्रवेश परीक्षा तयारी (इन्ट्रान्स प्रिपरेसन) र ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने कडा निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मन्त्रीस्तरीय निर्णयमार्फत आगामी २०८३ वैशाख १ गतेदेखि देशभर यस्ता कुनै पनि कक्षाहरू चलाउन नपाइने व्यवस्था गर्नुभएको हो।
मन्त्रालयले आइतबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै यस्ता शैक्षिक गतिविधिहरूले विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक भार थोपरेको र शिक्षामा समान पहुँच पुर्याउने सरकारी लक्ष्यमा अवरोध सिर्जना गरेको स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार यस्ता तयारी कक्षाहरूले विद्यार्थीको मानसिक स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेकाले नयाँ वर्षदेखि कुनै पनि निजी वा शैक्षिक संस्थालाई यी नाममा नयाँ भर्ना नलिन निर्देशन दिइएको छ।
