सुनको मूल्यमा ‘ब्रेकफेल’: नयाँ रेकर्ड नजिक पुग्यो भाउ, एकैदिन १३ सयको उछाल

काठमाडौँ— नेपाली सुनचाँदी बजारमा महँगीको मार थप चुलिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा प्रतितोला १ हजार ३०० रुपैयाँको भारी वृद्धि भएपछि उपभोक्ताहरू थप मारमा परेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ, जुन ३ लाखको मनोवैज्ञानिक सीमाभन्दा मात्र १०० रुपैयाँ तल हो। बुधबारको तुलनामा हेर्ने हो भने तीन दिनमै सुनको मूल्य ३ हजार १०० रुपैयाँले बढिसकेको छ।

चाँदीको बजारमा पनि आज उच्च वृद्धि देखिएको छ। एकैदिन तोलामा १२० रुपैयाँले बढेर चाँदीको मूल्य ५ हजार २७५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ४ हजार ७१५ डलर पुगेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। लगातारको यो मूल्यवृद्धिले विवाहको सिजनमा रहेका उपभोक्ता र व्यवसायी दुवैलाई चिन्तित तुल्याएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको माग र डलरको मजबुतीले गर्दा मूल्य अझै बढ्न सक्ने सङ्केतहरू देखिएका छन्।