प्रेमशान्ति तुलाधर लाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२ प्रदान गरिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान द्वारा हिजो मंगलबार ललितपुरमा आयोजित समारोहमा रामबहादुर थापा ले प्राध्यापक तुलाधरलाई एक लाख रुपैयाँ नगदसहित उक्त पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष थापाले मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले भाषाको सम्मान हुने बताएका थिए । उनले मातृभाषालाई माया गर्ने व्यक्तिलाई सम्मान गर्दै देशको भाषिक विविधता जोगाउन सबै पक्ष सक्रिय हुनुपर्ने धारणा राखे । साथै, सबै जातीय संस्थाले सञ्चालन गर्ने मातृभाषासम्बन्धी सम्मान तथा पुरस्कार कार्यक्रम मातृभाषामै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, नेपाल आदिवासी जनजाति महासंघ का अध्यक्ष निमा लामा ले मातृभाषा संरक्षण तथा संवर्द्धनका लागि यस्ता सम्मान महत्वपूर्ण हुने बताए । उनले भाषिक तथा जातीय विविधताको मौलिकता र अस्तित्व जोगाउन राज्यले परिणाममुखी ढंगले काम गर्नुपर्ने धारणा व्यक्त गरे ।
पुरस्कार छनोट समितिका संयोजक तथा प्रतिष्ठानका पूर्वउपाध्यक्ष जितपाल किरात ले तुलाधरको योगदान र प्रतिष्ठाको मूल्यांकन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । उनले युनेस्को को अध्ययनअनुसार नेपालमा बोलिने १२४ भाषामध्ये करिब ६० भाषा लोपोन्मुख सूचीमा रहेको उल्लेख गर्दै भाषा, संस्कृति र सभ्यतालाई जीवन्त राख्न योगदान गर्ने व्यक्तित्वहरूको सम्मान आवश्यक रहेको बताए ।
