सरकारले सोमबार संयुक्त सदनमा ल्याएको ‘नीति तथा कार्यक्रम’माथि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएका छन्।
सोमबारको संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सदन बीचैमा छाडेर निस्केका प्रधानमन्त्री शाहले बुधबार पनि संसद्मा अनुपस्थिति जनाउने भएका छन्।
बुधबारको संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिँदै छन्। कार्यसूची अनुसार प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी भए पनि अन्तिम समयमा जवाफ दिने जिम्मेवारी प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई दिएका हुन्।
प्रतिनिधिसभाको बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका नेताले सरकारको लक्ष्य स्पष्ट नभएको भन्दै आलोचना गरेका थिए।
यसअघि संसद्मा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह बीचैमा निस्केको भन्दै विपक्षी दलहरूका साथै सर्वसाधारणहरूले व्यापक आलोचना गरेका थिए। यद्यपि प्रधानमन्त्री वा सचिवालयले यसबारे कुनै प्रस्टोक्ति दिएन।
