किन्सासा, कङ्गो — कङ्गो (डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो) मा इबोला रोगको प्रकोप तीव्र रूपमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (WHO) ले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
अवस्था नियन्त्रण बाहिर जान थालेपछि विश्वभर उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म यस घातक रोगका कारण ८८ जनाको मृत्यु भइसकेको छ भने थप ३३६ जनामा सङ्क्रमणको शंका गरिएको छ। रोग तीव्र गतिमा फैलिरहेकाले मृतक र सङ्क्रमितको संख्या अझै बढ्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
कङ्गोका स्वास्थ्य मन्त्रीले यस इबोला प्रकोपका लागि हाल कुनै पनि खोप उपलब्ध नरहेको जानकारी दिनुभएको छ। चिकित्सकहरूका अनुसार यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ, जसले गर्दा स्थिति झन् भयावह बनेको छ। यो प्रकोप कङ्गोको इटुरी क्षेत्रबाट सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानको सीमासँग जोडिएको छ।
प्रारम्भिक अध्ययन अनुसार पहिलो सङ्क्रमित व्यक्ति एक स्वास्थ्यकर्मी नै रहेको खुलेको छ। स्थानीय बासिन्दाहरूका अनुसार पर्याप्त उपचार केन्द्र र आइसोलेसन वार्डहरूको अभाव भएका कारण धेरैजसो बिरामीहरूको घरमै मृत्यु भइरहेको छ। यसरी घरमै बिरामीको मृत्यु हुँदा समुदायस्तरमा रोग अझ तीव्र रूपमा फैलिने खतरा बढेको छ।
विषम परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सहायता संस्थाहरूले कङ्गोमा ठूलो मात्रामा सहयोग सामग्री र विशेष उपचार टोली पठाउने तयारी गरिरहेका छन्।
