काठमाडौं। म्यानचेस्टर सिटी बोर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि आर्सनल समर्थकहरू हजारौंको संख्यामा इमिरेट्स स्टेडियम पुगेका थिए। २२ वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि जितेको खुसीमा समर्थकहरूले भव्य उत्सव मनाएका हुन्।
सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्याउन जित आवश्यक थियो। तर, बोर्नमाउथले लगातार १७औं लिग खेलमा अपराजित यात्रा कायम राख्दै सिटीलाई रोक्यो। यही प्रदर्शनसँगै बोर्नमाउथले क्लब इतिहासमै पहिलो पटक युरोपियन फुटबलमा स्थान पनि सुरक्षित गरेको छ।
पछिल्ला तीन सिजन लगातार दोस्रो स्थानमा सीमित रहेको मिकेल आर्टेटाको टोलीले यसपटक अन्ततः उपाधि जित्दै ६ वर्ष लामो ट्रफी खडेरी अन्त्य गरेको हो।
सोमबार रेलिगेसनमा परिसकेको बर्न्लीलाई १–० ले हराउँदै आर्सनल पाँच अंकले शीर्षस्थानमा उक्लिएको थियो। त्यसपछि बोर्नमाउथसँग सिटीले अंक गुमाएसँगै आर्सनल च्याम्पियन बनेको हो।
सिजनभर उत्कृष्ट लयमा रहेको आर्सनलले गत महिना सिटीसँग पराजित भएपछि शानदार पुनरागमन गरेको थियो। टोलीले त्यसयता लगातार चार लिग खेल जित्दा कुनै गोल पनि खाएको थिएन।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आर्सनललाई बधाई दिँदै भने, ‘आर्सनल, मिकेल, प्रशिक्षक टोली, खेलाडी र समर्थक सबैलाई प्रिमियर लिग उपाधिको बधाई। तपाईंहरू यसको योग्य हुनुहुन्छ।’
