बाग्लुङ । २६ वर्षको उमेरमा तीनवटा विवाह गरेकी युवतीले ३८ वर्षीय प्रेमीसँग मिलेर ६२ वर्षीय पतिको हत्या गरेकी छन् ।
ज्यामी काम गरेर गुजारा चलाउने क्रममा फरक फरक पुरुषसँग निकट भएकी २६ वर्षीया लक्ष्मी नेपालीले ३८ वर्षीय प्रेमी राम आकाश विश्वकर्मासँग मिलेर ६३ वर्षीय पति देउबहादुर सार्कीको हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी बाग्लुङका प्रमुख एसपी फणीन्द्र प्रसाईका अनुसार वृद्ध अवस्थाका पति देउबहादुरसँग झैँझगडाका क्रममा उनी मारिएका हुन् । एक भ्युटावर निर्माण गर्ने साइटमा काम गर्न जाने क्रममा सँगै काम गर्ने राम आकाशसँग लक्ष्मीको हिमचिम बढेकोमा देउबहादुरले आपत्ति जनाउँदै आएका थिए ।
लमजुङको साविक गिलुङ गाविस– ९, हाल क्वहोलासोथार– ९ का बासिन्दा देउबहादुरले तनहुँ, म्याग्दे– ७, पहेरकी लक्ष्मीसँग केही वर्षअघि दाम्पत्य जीवन शुरु गरेका थिए । तर, उनीहरु पतिपत्नी हुन् भन्ने कुनै कागजी प्रमाण नभएको एसपी प्रसाईले बताए । देउबहादुर र लक्ष्मीको उमेरमा धेरै अन्तर भएका कारण पनि उनीहरुको कुरा नमिल्ने गरेको उनले बताए ।
गत सोमबार उनीहरु काम गर्ने साइटमा जाने क्रममा उकालो चढेपछि एउटा प्रतीक्षालयमा थकाई मार्दै थिए । देउबहादुरले राम आकाशलाई देखाएर लक्ष्मीलाई गाली गर्दै भनेका थिए, ‘त्योसँग किन लागिस् ?’ लक्ष्मीलाई गाली गरेको सुनेर राम आकाशले देउबहादुरलाई शुरुमा मुक्का हाने ।
एकैछिनमा लक्ष्मीले ढुंगाले टिपेर हानिन् । उनीहरुसँगै काम गर्न हिँडेका आसपुरे कामीले पनि देउबहादुरमाथि ढुंगा प्रहार गरे । आक्रमणबाट देउबहादुर अचेत भएपछि आफ्ना सबै सामान बोकेर लक्ष्मी, राम आकाश र आसपुरे पर्वततिर भाग्न भनी हिँडे । तर, हस्याङफस्याङ गर्दै भागिरहेको देखेपछि चेक प्वाइन्टमा रहेका प्रहरीले उनीहरुलाई रोक्यो ।
चेकजाँचका क्रममा उनीहरुको लुगामा रगत लत्पतिएको भेटिएपछि शंकाका आधारमा नियन्त्रणमा लिइएको थियो । एसपी प्रसाईका अनुसार उनीहरुले भनाभनका क्रममा ढुंगा हानेको र अचेत भएको स्वीकारेका छन् । लक्ष्मीले देउबहादुरभन्दा पहिला अन्य दुईजनासँग विवाह गरेको र उनीहरुबाट सन्तान पनि जन्माएको खुलेको प्रहरीले जनाएको छ ।
