विश्वकप फुटबलको अवसरमा अनलाइन बेटिङ नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप र वेबसाइट प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो।

नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गरी अनलाइन बेटिङ एप तथा वेबसाइटहरूको प्रचार–प्रसार बढ्दो क्रममा छ। सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यममार्फत सजिलै आम्दानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति हुने, व्यक्तिगत विवरण चोरी हुने, बैंकिङ तथा डिजिटल वालेट दुरुपयोग हुन सक्ने जोखिम रहने जनाएको छ। यस्ता प्लेटफर्म प्रयोग गर्दा प्रयोगकर्ताहरू साइबर ठगीको शिकार बन्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको स्वस्थ रूपमा रमाइलो लिन आग्रह गर्दै गैरकानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै, अनलाइन बेटिङको प्रचार–प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन समेत आग्रह गरेको छ।

खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रहरीले अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।