एजेन्सी – घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ।
मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले समान १ गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।
उत्साहपूर्ण वातावरणबीच खेलको सुरुआतदेखि नै मेक्सिको हावी देखियो। खेलको पाँचौं मिनेटअघि नै इस्राएल रेयेसको क्रसमा राउल हिमेनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरे ।
तर खेलको नवौं मिनेटमा मेक्सिकोले अग्रता लियो। एरिक लिराले दक्षिण अफ्रिकाका स्फेफेलो सिथोलेबाट बल खोसेपछि जुलियन क्विन्योनेसले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक विलियम्सको खुट्टामुनिबाट जाली चुम्यो।
पहिलो हाफमा दक्षिण अफ्रिकाले थप गोल खानबाट जोगियो। विलियम्सले हिमेनेजको हेडर रोके भने क्विन्योनेसको अर्को प्रयास पोस्टमा लाग्यो।
