काठमाडौं। ब्राजिल फिफा विश्वकपको पहिलो खेलमै मोरक्कोसँग हारबाट जोगिएको छ।
आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन्। मोरक्कोले २१औं मिनेटमा उत्कृष्ट आक्रमणमार्फत ब्राजिलविरुद्ध अग्रता लिएको थियो। ब्राहिम डियाजले इस्माइल साइबारीलाई सटीक पास दिएपछि उनले बललाई नियन्त्रण गर्दै अगाडि बढे।
ब्राजिलका गोलरक्षक एलिसन उनलाई रोक्न बक्सबाहिर निस्किएका थिए भने रक्षकहरू पनि समयमै फर्किन सकेका थिएनन्। यस्तो अवस्थामा साइबारीले शान्त रूपमा बललाई एलिसनमाथिबाट लब गर्दै जाली चुमाए र मोरक्कोलाई १–० को अग्रता दिलाए।
गोलपछि केही समय ब्राजिल दबाबमा देखियो। तर, ३२औं मिनेटमा भिनिसियस जुनियरले टोलीलाई खेलमा फर्काए। ब्रुनो गुइमाराएससँगको तालमेलपछि मोरक्कोको रक्षापंक्ति क्षणिक रूपमा चुक्दा भिनिसियस बायाँ कोणमा बिना निगरानी पुगे। उनले तीव्र गतिमा पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्दै शक्तिशाली प्रहार गरे, जसलाई गोलरक्षक यासिन बोनोले रोक्न सकेनन्।
भिनिसियसको यो ब्राजिलका लागि ५० खेलमा १०औं अन्तर्राष्ट्रिय गोल हो। उनको गोलसँगै समर्थकहरू उत्साहित बने र पहिलो हाफ १–१ को बराबरीमा समाप्त भयो।
