विश्वकप खेलअघि टाइम्स स्क्वायरमा अर्जेन्टिनी र अल्जेरियाली समर्थकबीच झडप

फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीचको खेलअघि अमेरिकाको न्युयोर्क स्थित टाइम्स स्क्वायरमा दुवै टोलीका समर्थकबीच झडप भएको छ।

प्रहरीका अनुसार स्थानिय समय अनुसार राति करिब १० बजे म्यानहट्टनको ४६औँ स्ट्रिट र ब्रोडवे क्षेत्रमा अर्जेन्टिनी र अल्जेरियाली समर्थकका दुई समूहबीच विवाद चर्किएपछि हात हालाहालको अवस्था सिर्जना भएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा समर्थकहरूको ठूलो समूहले एकअर्कालाई धकेलाधकेल गरिरहेको र त्यसपछि मुक्का हानाहान सुरु भएको देखिन्छ।

झडपका क्रममा एक बालकसमेत भीडको धक्कामुक्काबाट लड्न पुगेका थिए। घटनास्थलमा रहेकी एक महिलाले ‘शान्त होऊ, शान्त होऊ, के गरिरहेका छौ?’ भन्दै भीडलाई रोक्न प्रयास गरेको भिडियोमा सुनिन्छ।

घटनाका क्रममा केही पेय पदार्थसमेत भीडतर्फ छरिएको देखिएको छ। यद्यपि प्रहरीले कोही घाइते नभएको जनाएको छ।

विश्वकपको समूह ‘जे’ अन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीचको खेल स्थानिय समय अनुसार मंगलबार राति कानस सिटी स्टेडियममा हुँदै छ।

नेपाली समय अनुसार यो खेल अहिले ६:४५ मा सुरु हुने छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।