काठमाडौं। फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि फ्रान्सले विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। माइकल ओलिसेको पासमा सेनेगलका कप्तान कालिदु कुलिबालीलाई छल्दै उनले गोलरक्षक एडुआर्ड मेन्डीलाई बिट गरेका थिए।
गोल गरेपछि एमबाप्पेले बाँसुरी बजाउने शैलीमा विशेष उत्सव मनाए। अमेरिकी टेलिभिजन प्रस्तोता तथा अभिनेता जेम्स कोर्डेनसँगको एक अन्तर्वार्तामा उनले आफ्नो अर्को विश्वकप गोलपछि बाँसुरी बजाएको अभिनय गर्ने वाचा गरेका थिए। बाल्यकालमा आफ्ना अभिभावकको आग्रहमा उनले केही वर्ष बाँसुरी सिकेका थिए।
फ्रान्सका प्रशिक्षक डिडिएर डेसाम्प्सले एमबाप्पेको प्रदर्शनको प्रशंसा गर्दै भने,‘सैद्धान्तिक रूपमा उनले चार वा पाँच गोल पनि गर्न सक्थे, तर दुई गोलमै हामी खुसी छौं।’
८२औं मिनेटमा मैदान प्रवेश गरेको दुई मिनेटमै ब्राड्ली बार्कोलाले फ्रान्सको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा इब्राहिम एमबायेले सेनेगलका लागि एक गोल फर्काए पनि त्यसको मात्र ६८ सेकेन्डपछि एमबाप्पेले करिब ३० यार्ड टाढाबाट सानदार प्रहार गर्दै फ्रान्सको तेस्रो गोल गरे। उनको शक्तिशाली प्रहार मेन्डीको फैलिएको हात र क्रसबारको बीचबाट जाली चुम्न पुगेको थियो।
फ्रान्सका डिफेन्डर विलियम सालिबाले उक्त गोललाई अविश्वसनीय गोल भन्दै प्रशंसा गरे। यस खेलसँगै एमबाप्पेको विश्वकप गोल संख्या १४ पुगेको छ। उनले ब्राजिलका महान् खेलाडी पेले र अर्जेन्टिनाका लिओनल मेसीलाई उछिन्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि बढेका छन्।
उनी अहिले जर्मनीका गर्ड मुलरसँग बराबरीमा छन्। उनीभन्दा माथि ब्राजिलका रोनाल्डो (१५ गोल) र जर्मनीका मिरोस्लाभ क्लोजे (१६ गोल) मात्र रहेका छन्।
साथै, एमबाप्पे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि बनेका छन्। उनका ५८ गोल पुगेका छन्, जसले ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमानलाई पछि पारेको छ।
सेनेगलले पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राखेको थियो। निकोलस ज्याक्सनको एक प्रहार पोस्टमा लागेर फर्किएको थियो। तर, दोस्रो हाफमा फ्रान्सले खेलमा पूर्ण नियन्त्रण जमाउँदै सेनेगललाई पराजित गर्यो।
विश्वकपको लगातार तेस्रो फाइनल यात्रा गर्ने लक्ष्यमा रहेको फ्रान्सले अब आफ्नो दोस्रो खेलमा इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल नर्वेविरुद्ध खेल्नेछ।
