काठमाडौं : नयाँ सरकार गठनसँगै सेयर बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरेका लगानीकर्ताहरूको आशा पूरा हुन सकेको छैन। सरकार गठन भएको करिब १०६ दिन बितिसक्दा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको देखिएको छ।
पछिल्लो कारोबारमा नेप्से २,५७०.२८ विन्दुमा झरेर छ महिनायताकै न्यून स्तरमा पुगेको छ। नयाँ सरकार गठन हुनुअघि करिब २,९५० विन्दुमा रहेको परिसूचक यस अवधिमा ३८० अंकभन्दा बढीले घटेको छ। यससँगै बजार पुँजीकरणमा पनि करिब ६०० अर्ब रुपैयाँको कमी आएको छ।
बजार विश्लेषकहरूका अनुसार राजनीतिक स्थायित्वसँगै नीतिगत स्पष्टता आउने अपेक्षा गरिए पनि त्यसको प्रभाव बजारमा देखिएको छैन। सुशासनका नाममा केही ठूला व्यवसायीमाथि भएका अनुसन्धान, नियामकीय अन्योल तथा लगानीकर्तामा बढेको मनोवैज्ञानिक त्रासका कारण नयाँ लगानी बजारमा प्रवेश गर्न नसकेको उनीहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार सरकारका केही नीति पूँजीबजारमैत्री देखिए पनि कार्यान्वयनमा देखिएको ढिलाइ र नीतिगत अनिश्चितताले लगानीकर्ताको विश्वास पुनःस्थापित हुन सकेको छैन। ठूलो लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेकाले बजारमा खरिदभन्दा बिक्रीको दबाब बढी देखिएको छ।
अर्थविद्हरूले पूँजीबजारमा दिगो सुधारका लागि स्पष्ट आर्थिक नीति, लगानीमैत्री वातावरण, नियामकीय स्थायित्व तथा लगानीकर्ताको मनोबल बढाउने कदम आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार यी विषयमा सकारात्मक प्रगति भए मात्र नेप्सेमा पुनः सुधारको संकेत देखिन सक्छ।
