सुदर्शन राजोपाध्याय भारतको अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ तथा ‘कला रत्न’बाट सम्मानित

काठमाडौं, साउन ११ — वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको आसाम राज्यमा आयोजित १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ तथा ‘कला रत्न’ सम्मानबाट सम्मानित हुनुभएको छ।

गुवाहाटीस्थित श्री श्री राजहुवा सत्रको आयोजनामा सम्पन्न महोत्सवमा उहाँलाई उक्त दुई सम्मान प्रदान गरिएको हो। सम्मान आसाम राज्यका लोकसभा सदस्य विजय कुमार गुप्ताले प्रदान गर्नुभएको थियो।

 

जुलाइ १९ देखि २१ सम्म कुमारपारास्थित श्री श्री राजहुवा सत्र रंगमञ्चमा सञ्चालन भएको महोत्सवमा राजोपाध्यायले विशेष सरोदवादनसमेत प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा भारतका विभिन्न राज्यबाट सहभागी कलाकारहरूले नृत्य, संगीत, वाद्यवादन तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै, विभिन्न सांस्कृतिक विधाका प्रतियोगितासमेत आयोजना गरिएको थियो।

यसअघि गत मे महिनामा भारतको महाराष्ट्रस्थित पुणेमा आयोजित ‘भारत उत्सव’मा पनि राजोपाध्याय ‘राष्ट्रिय कलाक्षेत्रम सम्मान’ बाट सम्मानित हुनुभएको थियो। अखिल लोककला कल्चरल अर्गनाइजेशनद्वारा आयोजित उक्त उत्सवमा भारतका विभिन्न राज्यका करिब ३,५०० कलाकारले भरतनाट्यम, कथकलगायत लोक तथा शास्त्रीय कलाका विविध प्रस्तुति दिएका थिए।

राजोपाध्यायले यसअघि पनि भारतका विभिन्न राज्यमा आयोजित सांस्कृतिक कार्यक्रमहरूमा सरोदवादन प्रस्तुत गरिसक्नुभएको छ। नेपालको कला, संस्कृति र शास्त्रीय संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै आउनुभएका उहाँले भारतका विभिन्न राज्यबाट सुरताल अन्तर्राष्ट्रिय सम्मान पुरस्कार–२०२५, ‘विविधता में एकता’ राष्ट्रिय सम्मान–२०२०, इन्डियन बेस्टिज अवार्ड–२०१९ तथा पश्चिम बंगाल सरकारद्वारा प्रदान गरिएको ‘संगीतमञ्जरी’ उपाधिलगायतका सम्मान प्राप्त गर्नुभएको छ। साथै, सन् २०१५ मा गुजरातमा आयोजित ‘सुरिल साँझ’ कार्यक्रमका तर्फबाट उहाँलाई स्वर्णपत्र प्रदान गरिएको थियो।

नेपालमा पनि उहाँले संगीत क्षेत्रमा उल्लेखनीय योगदानका लागि विभिन्न सम्मान प्राप्त गर्नुभएको छ। रेडियो नेपालद्वारा सन् २००२ मा आयोजित जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएका राजोपाध्याय शास्त्र सम्मान–२०१८, सेभ द नेशन अवार्डलगायतका पुरस्कार तथा सम्मानबाट पनि विभूषित भइसक्नुभएको छ।

सरोदवादनका अतिरिक्त उहाँका नेपाली, नेपाल भाषा तथा शास्त्रीय संगीतका थुप्रै सांगीतिक कृतिहरू प्रकाशित छन्। नेपाली भाषामा ‘पलपल’, ‘पानीसरी’ र ‘त्यो रात’, नेपाल भाषामा ‘नसला’, ‘हसना’, ‘छन्हुनिन्हू’ र ‘छगू मतिना’, शास्त्रीय संगीततर्फ ‘वनडे रागाज’, ‘सोलफूल: म्युजिक फर मेडिटेशन’ तथा भारतबाट प्रकाशित ‘सुरिल म्युजिक इन–२०१५’ लगायतका सीडी तथा क्यासेटहरू सार्वजनिक भइसकेका छन्।