काठमाडौँमा दिपङ्कर बुद्धको शोभायात्रासहित पञ्चदान सम्पन्न; २४ वर्षदेखि रोकिएको ‘सम्यक महादान’को स्मरण

काठमाडौँको महाबौद्धस्थित महाबुद्ध महाविहार र असन क्षेत्रमा हिजो धार्मिक तथा सांस्कृतिक महत्त्वको पञ्चदान पर्व सम्पन्न भएको छ। हरेक १२ वर्षमा हुनुपर्ने तर विगत २४ वर्षदेखि आयोजना हुन नसकेको ‘सम्यक महादान’को स्मरण गराउन दिपङ्कर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रमको आयोजना गरिएको हो।

स्वयम्भूमा आयोजना हुने सम्यक महादान पछिल्लो पटक विक्रम संवत् २०६० (इ.सं. २००३) मा भएको थियो। त्यसयता रोकिएको महादानलाई निरन्तरता दिन र जागरुकता फैलाउन यो विशेष कार्यक्रम गरिएको आयोजकहरूले बताएका छन्।

उक्त शोभायात्रा तथा पञ्चदान कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको सहभागिता रहेको थियो। कार्यक्रममा पुगी उहाँले सम्यक दान तथा पञ्चदानको सांस्कृतिक एवं सामाजिक महत्त्वका विषयमा जानकारी लिनुभयो।

सो क्रममा कार्यवाहक प्रमुख डङ्गोलले महानगरपालिका भित्रका अमूर्त सम्पदा, जनश्रुति तथा कथनमा आधारित सांस्कृतिक धरोहरहरूको संरक्षणमा कसरी अघि बढ्ने भन्ने विषयमा स्थानीय र सरोकारवालाहरूसँग पृष्ठपोषण (फिडब्याक) समेत लिनुभएको थियो।

“हामी आवश्यकता र तथ्यमा आधारित भएर कार्यक्रमहरू कार्यान्वयन गर्न चाहन्छौँ। यसका लागि तपाईँहरूका मनमा लागेका सुझाव तथा कुराहरू निर्धक्क भन्नुहोला,” श्रद्धालुहरूलाई सम्बोधन गर्दै डङ्गोलले भन्नुभयो, “अमूर्त सम्पदा जोगाउने र प्रवर्द्धन गर्ने काममा महानगरपालिका सधैँ तपाईँहरूको साथमा छ।”

यस्तै, कार्यक्रमका विषयमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले सामाजिक सद्भाव कायम राख्न काठमाडौँमा मनाइने जात्रा–पर्वहरू जत्तिको वैज्ञानिक र व्यवहारिक संस्कार अन्त विरलै पाइने बताउनुभयो।

शोभायात्रामा काठमाडौँका विभिन्न महाविहार, बहाः र बहीःहरूमा रहेका ८५ जना शाक्य स्थवीर, थायपा, दिपङ्कर तथागत बुद्धहरूका साथै जीवित देवताहरू श्रीगणेश र श्रीभैरवलाई आसनमा विराजमान गराइएको थियो।

दिपङ्कर बुद्धहरूलाई आसन ग्रहण गराएर कार्यक्रम सुरुवात गरिएको थियो। पछि बिहान ९ देखि ११ बजेसम्म: सर्वसाधारण तथा श्रद्धालुहरूबाट पञ्चदान प्रदान गरियो।

अपराह्न १२:३० बजे: महाबौद्ध, असन, त्योड, इनबहाल, कमिलाक्षी, भोटाहिटी हुँदै असन डवलीसम्म भव्य शोभायात्रा गराइएको थियो। शोभायात्रापश्चात् असनमा विशेष पूजाआजा सम्पन्न गरियो।