विराटनगर- सुनसरीको देवानगन्ज गाँउपालिकास्थित कप्तानगन्ज भएको घटनामा पीडितलाई न्याय दिन माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ ।
विराटनगरको मेनरोडमा भेला भएका युवाहरुको समूहले कप्तानगन्जका पीडितहरुलाई न्याय दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय मोरङमा पनि नाराबाजी गरेका छन् । मृतकलाई सहीद घोषणाको माग गर्दै उनीहरुले घटनामा गोली कसले चलाएको निष्पक्ष रुपमा छानविन हुनुपर्ने जनाएका छन् ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले आज अपराह्न ३ बजे सर्वपक्षीय बैठकको आयोजना गर्ने जनाएको छ ।
कार्यालयले जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न बैठक राखेको जनाएको छ ।
मोरङ उद्योग ब्यापार संघमा हुने बैठकमा सामाजिक धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले निर्वाह गर्नुपर्ने भूमिका, जिल्लामा सद्भाव र्याली गर्ने सन्दर्भमा, र समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने जनाएको छ ।
