अमेरिका र इरानबीचको ६ महिना लामो द्वन्द्वले विश्वव्यापी इन्धन आपूर्तिमा दबाव सिर्जना गरेको छ र ऊर्जाको मूल्य बढाएको छ । तैपनि अमेरिकाका ठूला तेल कम्पनीहरूका लागि भने यही अवरोध असाधारण आम्दानीको स्रोत बनेको ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ ।
यस अवरोधको केन्द्रविन्दुमा ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग रहेको छ । अमेरिका–इरान द्वन्द्वका कारण यस मार्ग भएर हुने धेरैजसो आवतजावत ठप्प भएपछि विश्वव्यापी आपूर्तिमा तीव्र सङ्कुचन आएको छ ।
द्वन्द्वका कारण कच्चा तेल ‘ब्रेन्ट क्रुड’ को मूल्य मार्च, अप्रिल र मे महिनाको अवधिमा प्रतिब्यारेल झन्डै ७० डलरबाट बढेर १०० डलरभन्दा माथि पुगेको छ । एक समय त कच्चा तेलको भाउ प्रतिब्यारेल १२६ डलरसम्म पनि पुगेको थियो ।
यही द्वन्द्वका बीच डिजेलको कीर्तिमानी उत्पादनका कारण एक्शन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भएर १४ अर्ब ५३ करोड अमेरिकी डलर पुगेको छ । टेक्सासमा रहेको यस कम्पनीको आम्दानी ४२ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब डलर पुगेको छ ।
ह्युस्टनमा मुख्यालय रहेको शेभरनको नाफा झन्डै ४ गुणाले बढेर १२ अर्ब ७ करोड डलर पुगेको छ भने राजस्व ५६ प्रतिशतले बढेर ७० अर्ब ६ करोड डलर पुगेको छ ।
युरोपका ६ वटा ठूला तेल कम्पनीले पहिलो त्रैमासिकमा कुल २२ अर्ब डलर नाफा कमाएको जनाएका छन्, यो अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतभन्दा धेरै हो ।
तेल कम्पनीहरूले कच्चा तेलको मूल्य आफैँ निर्धारण गर्दैनन् । मूल्यको निर्धारण आपूर्ति, माग तथा व्यापारी र प्रशोधनकर्ताहरूले तिर्न चाहेको रकमका आधारमा हुन्छ ।
टेक्सास क्रिश्चियन युनिभर्सिटीका ऊर्जा वित्तसम्बन्धी प्राज्ञ टम सेङका अनुसार यस अवधिमा प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा कमाएका हुन् ।
एक्शन र शेभरनजस्ता प्रशोधन केन्द्रहरूको स्वामित्व भएका कम्पनीहरू नाफा कमाउनका लागि अनुकूल स्थितिमा थिए, किनकि यस्ता केन्द्रहरूले कच्चा तेललाई पेट्रोल, डिजेल र जेट इन्धनजस्ता इन्धनमा परिणत गर्छन् ।
शेभरनले कम परिमाणमा तेल प्रशोधन र बिक्री गरे पनि उसको प्रशोधनबाट भएको नाफा अघिल्लो वर्षको तुलनामा ६ गुणा धेरै थियो ।
