वडा नं. १९ ले सम्झियो शशिलाल श्रेष्ठलाई, कार्यालय प्राङ्गणमा शालिक स्थापना

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ का पूर्व वडा अध्यक्ष स्वर्गीय शशिलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ। वडा नं. १९ कार्यालयको प्राङ्गणमा बुधबार बिहान ८ बजे आयोजित विशेष कार्यक्रमबीच श्रेष्ठको शालिक अनावरण गरिएको हो।

२०८३ भदौ १७ गते आयोजित शालिक अनावरण कार्यक्रममा वडा नं. १९ का जनप्रतिनिधि, स्थानीयवासी, श्रेष्ठका परिवारजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित स्थानीयवासीले स्वर्गीय श्रेष्ठप्रति फूलमाला तथा गुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

शालिक अनावरणपछि वडा राजेश श्रेष्ठ अध्यक्षले स्वर्गीय श्रेष्ठको कार्यशैली, कार्यक्षमता तथा वडा विकासमा उहाँले पुर्याउनुभएको योगदानको खुलेर प्रशंसा गर्नुभयो। उहाँले वडा नं. १९ को विकास र सामाजिक क्षेत्रमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँको योगदानलाई वडावासीले सधैं स्मरण गरिरहने बताउनुभयो।

कार्यक्रममा स्वर्गीय श्रेष्ठका परिवारजनको समेत उपस्थिति रहेको थियो। शालिक स्थापनाप्रति परिवारका तर्फबाट वडा कार्यालय तथा वडावासीलाई धन्यवाद दिइएको थियो। परिवारजनले श्रेष्ठको शालिक यसअघि नै स्थापना हुनुपर्ने भए पनि केही ढिलो भए पनि वडाले उहाँको योगदानलाई स्मरण गर्दै शालिक स्थापना गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए।

स्वर्गीय शशिलाल श्रेष्ठको जन्म २०१३ साल असोज १४ गते काठमाडौं महानगरपालिका–१९, ढोकाटोलमा भएको थियो। उहाँका बुबा रत्नलाल श्रेष्ठ र आमा विष्णुकुमारी श्रेष्ठ हुन्। उहाँकी श्रीमती निना श्रेष्ठ तथा छोरा सनिर श्रेष्ठ छन्।

श्रेष्ठले २०४६ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्दै नेपाली कांग्रेसमार्फत आफ्नो राजनीतिक जीवनलाई निरन्तरता दिनुभएको थियो। उहाँ २०४३ सालमा वडा सदस्य तथा २०४९ र २०५४ सालमा वडा अध्यक्ष बन्नुभएको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा १ हजार ८ सय ९९ मत प्राप्त गर्दै उहाँ काठमाडौं महानगरपालिका–१९ को वडा अध्यक्ष पदमा विजयी हुनुभएको थियो।

राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न संघसंस्थामार्फत सेवा तथा योगदान पुर्याउनुभएको थियो।