ट्रम्पले भने- मलाई इरानसँग कुनै सम्झौता गर्नु छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानलाई कुनै पनि वार्ताको टेबलमा ल्याउने प्रयासमा नरहेको बताएका छन् । मंगलबार राति ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत आफूलाई इरानसँग सम्झौता गर्न कुनै चासो नरहेको बताएका हुन् । उनले पोस्ट गर्नुअघि एबीसी न्यूजले ट्रम्प प्रशासनले इरानलाई वार्ताका लागि बाध्य पार्ने प्रयास गरिरहेको उल्लेख गरेको थियो ।

ट्रम्पले लेखेका छन्, ‘एबीसीले दिएको रिपोर्ट फेक न्युज हो। म इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको छैन। मलाई अहिलेको अवस्था नै बढी मन परेको छ, जहाँ होर्मुज जलडमरूमध्यमा हाम्रो लगभग पूर्ण नियन्त्रण छ र इरानको अर्थतन्त्र पूर्ण रूपमा धराशायी हुँदैछ। उनीहरू केवल टार्न नसकिने प्रक्रियालाई ढिलाइ गरिरहेका छन्।’

उनल अन्तिममा इरानका जनताले आवाज उठाउने र आफ्नो अधिकारका लागि लड्ने बताएका छन् । यी टिप्पणी गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले होर्मुज जलडमरूमध्य नजिक इरानका अखडाहरूमा अमेरिकाले गरेको नयाँ हमलालाई सही ठहराएका थिए। उनले इरानले जवाफी कारबाही गरे अमेरिकाले त्योभन्दा पनि कडा हमला गर्ने चेतावनी दिएका थिए।

इरानले अमेरिकाले विवाह समारोह भइरहेको र सर्वसाधारण नागरिकहरू उपस्थित रहेको स्थानलाई निशाना बनाएको जनाएको छ। अमेरिकी हमलामा ५ जनाको मृत्यु भएको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार उक्त हमलामा ६० जनाभन्दा बढी घाइते भएका छन्।