कथाकार तथा साहित्यकर्मी सरस्वती तुलाधरको निधन

नेपालभाषाकी चर्चित कथाकार तथा साहित्यकर्मी सरस्वती तुलाधरको निधन भएको छ। हिजो ६८ वर्षीया तुलाधरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

नेपालभाषा मिसा खलःकी आजीवन सदस्यसमेत रहेकी तुलाधर लामो समयदेखि विभिन्न सामाजिक तथा साहित्यिक संस्थामार्फत सक्रिय रहँदै आएकी थिइन्। नेपालभाषाको साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उनले महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन्।

तुलाधरका ‘पौभाः छगू जीवनया’, ‘लकसय् न्ह्यानाच्वंगु जीवन’, ‘ईया हिलासुइ थौंया जीवन’ लगायतका कृतिहरू प्रकाशित छन्। उनका रचनामा नेपालभाषा, समाज, संस्कृति र जीवनका विविध पक्षलाई समेटिएको पाइन्छ।

साहित्य सिर्जनासँगै उनी पत्रपत्रिका तथा पुस्तक सम्पादन, लिप्यान्तरणलगायतका कार्यमा समेत सक्रिय थिइन्। नेपालभाषाको साहित्यिक क्षेत्रमा उनको योगदानलाई महत्वपूर्ण रूपमा स्मरण गरिनेछ।

नेपालभाषा मिसा खलः, नेपालभाषा परिषद्, श्री दिगुख्यः गुथि, नेपालभाषा स्यनामि दबू लगायतका विभिन्न संघसंस्थामार्फत उनले निरन्तर योगदान दिँदै आएकी थिइन्।

नेपालभाषा तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप तुलाधरले विभिन्न सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेकी थिइन्। उनलाई लुमिन श्रेष्ठ नेपालभाषा सिरपाः (ने.सं. ११३२), बुद्धिपूर्ण सिरपाः (ने.सं. ११३६), मोतिलक्ष्मी सिरपाः (ने.सं. ११४२) तथा किपुल्चा नेवाः पुचःबाट प्रदान गरिएको हनापौलगायतका सम्मान प्राप्त भएका थिए।

नेपालभाषाको साहित्यिक क्षेत्रमा लामो समय योगदान दिएकी तुलाधरको निधनले नेपालभाषा साहित्य तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकर्मीहरूले बताएका छन्। उनको निधनप्रति विभिन्न संघसंस्था तथा साहित्यकर्मीहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

उहाँको अन्तिम संस्कार आजभदौ २० गते शनिबार मध्याह्न १२ बजे लुतिको कर्ण दीपमा सम्पन्न भएको छ।