युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासलाई तीव्रता दिँदै अमेरिकाले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख वार्ताकारहरू मस्कोमा पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका हुन्।
क्रेमलिनले सार्वजनिक गरेको भिडियोमा अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनरलाई पुटिनले स्वागत गरेका थिए। भेटका क्रममा पुटिनले अहिलेको परिस्थिति सजिलो नभएको बताएका थिए।
विटकफले तीन दिनका लागि एकअर्काका राजधानीमा आक्रमण रोक्न युक्रेन र रुस सहमत भएकोमा पुटिनलाई धन्यवाद दिए। अमेरिकी दूतहरू आइतबार थप वार्ताका लागि युक्रेन जानेछन्। किभमा उनीहरुले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्ने छन्।
शुक्रबार राष्ट्रपति ट्रम्पले विटकफ र कुशनर युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर रुस गएको बताएका थिए। यसअघि पनि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले रुस–युक्रेन युद्ध अन्त्यका लागि पटक–पटक मध्यस्थताको प्रयास गरे पनि अहिलेसम्म ठोस शान्ति सम्झौता हुन सकेको छैन।
शनिबार क्रेमलिनमा भएको वार्ताका क्रममा पुटिनले जस्तोसुकै परिस्थितिमा पनि हुने संवाद महत्वपूर्ण रहेको बताए। उनले युद्ध अन्त्यका लागि पहल गरिरहेका राष्ट्रपति ट्रम्पलाई धन्यवादसमेत दिए।
पुटिनले विटकफ र कुशनरसँग काम गर्न आफू सहज महसुस गरिरहेको बताउँदै भने, ‘निश्चय नै, यो प्रक्रियामा हाम्रो पक्षबाट पनि उच्च स्तरको विश्वास छ।’ रुसको राजधानी मस्कोको केन्द्रमा रहेको पुटिनको आधिकारिक निवासमा बन्द ढोकाभित्र भएको वार्ता करिब तीन घण्टा चलेको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
