युवा गीतकार तथा संगीतकार विकास रत्न कंसाकारले लेख्नुभएको र गायिका प्रतिमा बज्राचार्यले गाउनुभएको नेपालभाषाको ‘दः यःम्ह गन दइ ?’ शीर्षकको म्यूजिक भिडियो ने.सं. ११४४ चौलागाः तृतीया, शनिबार (बैशाख १५ गते) एक कार्यक्रमका बिच लोकार्पण भएको छ ।
चर्चित संगीतकार जीवित जल्मिले एरेन्ज गर्नुभएको तथा सुरेन्द्र श्रेष्ठले रेकर्डिङ्ग गर्नुभएको यस गीत बैँसले भरिपूर्ण भएका महिलाहरुको भावनालाई समावेश गरी तयार गरिएको छ । गीतकार पवित्र कसाःले सञ्चालन गर्नुभएको यस कार्यक्रममा सहभागी हुनुभएका सबैलाई अतिथिको रुपमा लिएर गीतकार विकास कसाः र गायिका प्रतिमा बज्राचार्यले खादा लगाइ दिनुभएको थियो ।
निर्देशक राजन शाहीको निर्देशनमा तयार भएको यस गीतमा कलाकारहरु नरेन्द्र कंसाकार, सरस्वती मानन्धर, प्रविधि कसाः, प्रतिज्ञा बज्राचार्य र सञ्जय मालीले प्रमुख रुपमा अभिनय गर्नुभएका छन् ।
उक्त म्यूजिक भिडियो लोकार्पण कार्यक्रममा निर्देशक राजन शाही, सुरेन्द्र तुलाधर, दर्शन वीर शाक्य, विराज राजोपाध्याय, भीम तुलाधर, सुजन वीर बज्राचार्य, रामकृष्ण खड्गी, अमृत रत्न शाक्य लगायतले नेपालभाषाका म्यूजिक भिडियो तथा नेपालभाषामा यस्ता प्रयासका बारेमा आआफ्ना मन्तब्य राख्नुभएको थियो ।
यस म्यूजिक भिडियोमा वाद्यवादनको रुपमा सितार पद्महिरा स्थापित, बांसुरी रुबिन श्रेष्ठ, तबला, मादल लक्ष्मी डंगोल, ह्यांजि बिकास रत्न कंसाकारले बजाउनु भएको छ ।
यस म्यूजिक भिडियोमा क्यामेरा लूजः सिंहले सम्हाल्नुभएको छ भने मेकअप सनम कुमार श्रेष्ठ, सम्पादन लूजः इन्टरटेन्टमेन्टबाट र पोष्टर प्रज्ञश बज्राचार्य अनि रन्जना लिपि अनिल स्थापितले डिजाइन गर्नुभएको छ ।
