काठमाडौं – आजदेखि बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोग गरिने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने निर्णय यसअघि नै गरिसकेको छ ।
यसै सन्दर्भमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनु भयो।
प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताउनु भयो। मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।
२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो । सो निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्दै हुनुहुन्छ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री गंगानारायणी श्रेष्ठले २४ वैशाखपछि बागमती प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्ने बताउनु भयो।
