कोलम्बियाको सपना खरानी पार्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता लाउटारो नायक बने । उनले प्रतियोगितामा यो पाँचौ गोल हो ।

च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टोली बनेको हो । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेको थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ ।

यसैगरी अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ । अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।