दशैँको अबसरमा गत फूलपातीको दिन (बिहिबार) ललितपुरमा भएको एक कार्यक्रममा संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।
उक्त गीतका रचनाकार र संगीतकार पनि गायक महर्जन नै हुन् । म्यूजिक भिडियोको निर्देशन बालमुकुन्द प्रजापतिले गरेका छन् भने किरण जोशी र आराध्यालक्ष्मी खड्गीको अभिनय रहेको छ । छायाङ्कन र दृश्य सम्पादन शैलेस श्रेष्ठ लुभुले गरेका छन् ।
कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्य, वरिष्ठ सिने पत्रकार बिजयरत्न तुलाधर, कीर्तिपुर नगरपालिकाका पूर्व नगर प्रमुख रमेश महर्जन लगायतको उपस्थिती थियो।
कार्यक्रममा संगीतकर्मी हरिशरण सायमि, गायक सतिश महर्जन, यमन श्रेष्ठ, बानिका प्रधान लगायतले गीत र कलाकार कृष्णभक्त महर्जनले नृत्य प्रस्तुत गरेका थिए । साथै गायक महर्जनको मन्तव्य भने भिडियो सामग्रीमार्फत राखिएको थियो ।
केभिएस लुभु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित म्यूजिक भिडियो गायक महर्जनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
