धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् ।उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका हुन् ।
उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ ।
आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन्।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ। धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोशीको पानी ल्याउनुको विकल्प नरहेको र त्यसका लागि केन्द्रीय सरकारले बजेट छुट्याउनैपर्ने उनको जिकिर छ।
सुरुङमार्फत तमोर नदीकाे ल्याउने योजना दिवा सपना मात्रै भएको उनले बताए।
तमोरको पानी ल्याउँदा ड्याम्प बनाउनुपर्ने र त्यसले हजारौं स्थानीयलाई विस्थापित गर्ने र जलाधार क्षेत्र समेत नाश हुने उनको तर्क छ।
उनले आफ्नो कार्यकालभरि त धराने जनतालाई जसरी पनि पानी खुवाउने तर आगामी ५०-१०० वर्षपछिकाे लागि व्यवस्था गर्न कोशीकै पानी ल्याउनुपर्ने जिकिर छ।
