२५ वर्षपछि भारत र न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा भिड्दै

काठमाडौँ – भारत र न्युजिल्यान्ड २५ वर्षपछि आइतबार च्याम्पियन्स ट्रफीको फाइनलमा प्रतिस्पर्धा गर्दै छन्। दुबईमा हुने उपाधि भिडन्तमा दुवै टोली आफ्नो बलियो छवि कायम राख्दै च्याम्पियन बन्ने लक्ष्यमा छन्।

सन् २००० मा नैरोबीमा यी दुई टिम च्याम्पियन्स ट्रफीकै फाइनलमा भिडेका थिए। जहाँ फाइनलमा न्युजिल्यान्डले भारतलाई ४ विकेटले हराएको थियो।

आइसीसी प्रतियोगिताको नकआउट भिडन्तमा भारतलाई सर्वाधिक धेरै पटक निरास पार्ने टोली न्युजिल्यान्ड हो। भारतलाई न्युजिल्यन्डले २०१९ को एकदिवसीय विश्वकप तथा २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा निरास बनाइसकेको छ।

न्युजिल्यान्डसँग आइसीसी टाइटलको रुपमा केवल आइसीसी च्याम्पियन्स ट्रफी मात्र हो। सन् २००० मा भारतले केन्यामा अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएको थियो। न्युजिल्यान्डले जिम्बाब्वे र पाकिस्तानलाई हराएर फाइनल पुगेको थियो।

च्याम्पियन्स ट्रफी इतिहासमा यी दुई टिम तेस्रो पटक भिड्न लागेका हुन्। यही वर्ष समूहचरणमा एकअर्काविरुद्ध भिडेका यी दुई टिम पुनः फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। भारतले दुबईमा भएको खेलमा समूह चरणमा ४४ रनको जित निकालेको थियो। अब ९ मार्चमा पुनः एकअर्काविरुद्ध भिड्दा उपाधिको छिनोफानो हुनेछ।

आइसीसीको सबैखाले प्रतियोगितामा गरी भारत र न्युजिल्यान्डबीच १६ खेल भएका छन्। जसमा १० खेलमा न्युजिल्यान्ड र ६ खेलमा भारतले जित हासिल गरेको छ। यद्यपि, एकदिवसीय क्रिकेटमा भने दुवै टिमले बराबरी खेल जितेका छन्। अर्थात् यी दुई टिमबीच १२ खेल हुँदा दुवैले समान ६-६ जित निकालेका छन्।