डेंगी नियन्त्रणका लागि सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ – नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले डेंगीको प्रकोप दिनानुदिन बढ्दै गएकोले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले डेंगीले महामारीको रुप लिनुअगावै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले रोग नियन्त्रणका लागि तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारीलगायत आम नागरिकसमेतको सहभागितामा डेंगी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गरे।

जनस्वास्थ्य विभागको निगरानीमा रोकथामका कार्यक्रम तीव्र बनाउन माग गर्दै उनले संक्रमितलाई सहजा र सरल उपचार व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।

यसैगरी राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद उदयबहादुर बोहोराले पनि डेंगी प्रकोप नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए।

उनले देशभर ७३ जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ४ सय ३ पुगिसकेको बताउँदै महामारीको रुप लिनुअघि नै नियन्त्रणमा प्रभावकारी काम गरिनुपर्नेमा जोड दिए।