ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते

दाङमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

गढवा गाउँपालिका- ३ धैरेनीका ५५ वर्षीय बलबहादुर थापाको दुर्घटनामा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गएराति करिब पौने ८ बजे गढवा गाउँपालिका- १ कालाकाटेबाट वडा नम्बर ३ धैरेनीतर्फ गइरहेको रा १ ह ५९२३ नम्बरको अटोलाई विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको ट्याक्टरले धैरेनीमा ठक्कर दिएको थियो ।

दुर्घटनामा अटो चालक ३८ वर्षीय लेकबहादुर रोका र ४२ बर्षिय अमर बहादुर नगरकोटी गम्भीर घाइते भएका छन् । उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।

मृतक थापाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।