जेनजीको प्रदर्शन सुरु ,बालेन शाह र रवि लामिछानेको ऐक्यबद्धता

सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।

प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए। माइतीघरमा जम्मा भएर जेनजी ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम छ।

प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन्। प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने भनिएको छ।

काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ।

माइतीघर मण्डलामा आयोजित जेनजीको प्रदर्शन स्थलमा एसपी र आधा दर्जन डीएसपीहरूले सुरक्षा कमाण्ड गर्ने भएका छन् । माइतीघर र बानेश्वर क्षेत्रको कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्ने भएका हुन् ।

सो क्षेत्रमा प्रहरीका ६ जना डीएसपीहरू पनि खटिनेछन् । प्रदर्शन स्थलमा सशस्त्र प्रहरीको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्वमा गर्नेछन् ।

काठमाडौँका अपरेशन कमाण्डर सुन्दर तिवारी, प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा, नगर प्रहरीका डीएसपी मञ्जिल मुकारुङ र सिंहदरबार वृत्तका डीएसपी जनार्दन घिमिरे सहित ६ जना परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।

भ्रष्टाचारको विरुद्धमा आज माइतीघरमा हुने प्रदर्शनबारे आइतबार जिल्ला सुरक्षा समितिमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको थियो ।

उनीहरूको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछाने लगायतले ऐक्यबद्धता जनाएका छन्।