कान्तिपुर इङ्गलिश सेकेन्डरी स्कुल, धुम्बाराहीका ९४ जना विद्यार्थी र ७ जना शिक्षकहरुले ने.सं. ११४६ थिंलागाः प्रतिपदा, शुक्रबार (मंसीर १९ गते) र थिंलागाः तृतिया, आइतबार (मंसीर २१ गते) उदाय म्यूजियमको भ्रमण गरी अवलोकन गरेका छन् ।
यस म्यूजियम भ्रमणको क्रममा नेवार संस्कृति र नेवारहरुका जीवनचक्र अध्ययन गर्ने कार्य गरेका छन् । यस प्रकार म्यूजियम अवलोकन गर्न आउनुभएका विद्यार्थीहरुलाई सुमित्रा तुलाधर, राजनी ताम्राकार, रत्नकमल कंसाकार र अमित कसाःहरुले म्यूजियममा रहेका विभिन्न सामाग्रीहरुका बारेमा पूर्ण रुपमा जानकारी दिनुभयो । विद्यार्थीहरुले पनि म्यूजियमका विभिन्न सामाग्री बारे रिपोर्ट बनाउन अभिरुचिपूर्वक नोट बनाएका थिए ।
विद्यालयका शिक्षकहरुले, विद्यालयले नेवार संस्कृति पठनपाठन गरिआएको कुरा समेत बताउनुभएको छ भने यसै कारण यस प्रकारको भ्रमण गराउने कार्य अघि बढाएको भनी भन्नुभयो । यसले गर्दा विद्यार्थी बाल बालिकाहरु रमाएको र धेरै कुराहरु सिक्ने कार्य गरेको भन्नुभयो । संग्रहालयका संयोजक डा. सुमन कमल तुलाधरले विद्यालयलाई अतिरिक्त–पाठ्यक्रम गतिविधिका रुपमा नेवार सीप विद्यालयमा सिकाउन कार्यशालाको आयोजना पनि गर्न सकिने प्रस्ताव राख्नुभएको छ ।
ऐतिहासिक असन टोलमा स्थापना गरिएको उदाय संग्रहालयमा हिजोको उदाय समुदायभित्र प्रचलित भई आएका सामाजिक, सांस्कृतिक अभ्यासको अनुसन्धान, दस्तावेजीकरण र प्रदर्शनी गर्ने प्रयास भई आएको छ ।
यस उदाय संग्रहालय उदाय भवनमा अवस्थित छ । काठमाण्डौं महानगर पालिकाका मेयर बालेन शाहले विद्यालयका बालबालिकाहरुका निमित्त बुक फ्री डेका रुपमा हरेक शुक्रबारका दिनलाई छुट्याइएको छ । यस प्रकारको रणनीतिले बालबालिकाहरुलाई शैक्षिक भ्रमण गराउने अवसर प्राप्त भएको छ ।
साथै, नेवार संस्कृति सिक्ने अवसर पनि प्राप्त भएको अवस्था देखिएको छ । बसन्तपुर दरवार स्क्वाएरबाट थमेल सम्म पैदल मार्गको करीब बिचमा रहेको असन टोलको प्राचीन ब्यापारिक केन्द्रमा नै यस संग्रहालय अवस्थित छ । यस ठाउँ स्थानीयहरुका साथै पर्यटकहरुका लागि समेत उत्कृष्ट किनमेल बजारको केन्द्र भइरहेका छन् । यस स्थानमा मल्ल कालमा नै बनाइएका घरहरु समेत रहेका छन् । यस असन टोल वरिपरि प्राचीन वास्तुकलाले भरिपूर्ण परम्परागत वज्रयान बहाल पनि रहेका छन् ।
