आज चैत्र कृष्ण चतुर्दशी, नेवा: समुदायले पाँहाचह्रे पर्व मनाउँदै

काठमाडौं उपत्यकाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको पाहाँचह्रे पर्व आज हर्षोल्लासपूर्वक मनाएका छन्। परापूर्वकालदेखि नै कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई पिसाच चतुर्दशी पनि भनिन्छ। नेवार समुदायमा दशैं–तिहारपछि ठूलो सांस्कृतिक पर्वका रूपमा पाहाँचह्रे मनाइने परम्परा रहँदै आएको छ।

नेपाली पात्रोअनुसार चैत कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व प्राकृतिक विपत्ति तथा रोगव्याधिबाट जोगिन प्रार्थना गर्ने विश्वाससँग जोडिएको छ। नेपालभाषामा “पाहाँ” को अर्थ पाहुना र “चह्रे” को अर्थ चतुर्दशी हुने भएकाले यस दिन देवताहरूलाई पाहुनाका रूपमा स्वागत गरी पूजा गर्ने परम्परा रहेको मानिन्छ।

पाहाँचह्रे सुरु हुनु अघि घरको छाना मर्मत गर्ने, वरपरको फोहोर सफा गर्ने, खाल्डाखुल्डी मिलाउने तथा टोल–टोलमा रहेका आजु–अजिमा (पुर्खा देवता) लाई समयबजी चढाएर पूजा गर्ने चलन रहेको छ। समयबजीमा चिउरा, छोयला, माछा लगायतका परिकार समावेश गरिन्छ।

तीन दिनसम्म मनाइने यस पर्वको पहिलो दिन चोकचोकमा रहेको लुकुमाद्यः (लुकेको महादेव) को पूजा गरिन्छ। यस दिन बिहानै स्नान गरी विभिन्न शक्तिपीठहरूमा पूजा गरिन्छ भने साँझपख लुकुमाद्यःलाई तोरीको फूल, मुलाको फूल, समयबजी र रक्सी चढाएर पूजा गर्ने चलन छ। त्यसपछि परिवारका सदस्यहरू भेला भएर सामूहिक भोज खाने गरिन्छ।

पर्वको दोस्रो दिन टोलटोलमा स–साना बालबालिकालाई मरःजा खुवाइन्छ। मरःजा एक प्रकारको पवित्र भात हो, जुन काठमाडौंका कोहिटी, भीमसेनस्थान, लगन, ह्यूमतलगायत स्थानमा वितरण गरिन्छ। बालबालिकालाई मरःजा खुवाउँदा रोगव्याधी नलाग्ने, स्वस्थ र तन्दुरुस्त हुने जनविश्वास रहेको छ।

तेस्रो दिन भने विभिन्न शक्तिपीठका देवीदेवताहरूलाई खटमा राखेर नगर परिक्रमा गरिन्छ। नगर परिक्रमा गर्ने क्रममा आफ्ना छोरीचेलीका घरमा गई पूजा लिने परम्परा रहेको छ।

यसै अवसरमा काठमाडौंको असन क्षेत्रमा खट जुधाउने परम्परा पनि रहेको छ। पहिले असनमा सात खटको जात्रा हुने गरेको उल्लेख पाइए पनि अहिले भने भद्रकाली (लुमरी अजिमा), कंकेश्वरी (चामुण्डा कंग अजिमा)टेबहालकी लुभडी अजिमा को खट बोकेर ल्याई तीप्वा मत (चिराग) साटासाट गर्दै खट जुधाएको प्रतीकात्मक जात्रा मनाइन्छ।

पाहाँचह्रे पर्वले नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र सामुदायिक एकतालाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।