काठमाडौँ — वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य सुरु भएको छ। सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिका अनुसार यस वर्ष चैत १२ गते पर्ने जात्रालाई लक्षित गर्दै तृतीयादेखि नै रथ बनाउन थालिएको हो।
परम्पराअनुसार रथलाई बेतले बाँध्ने गरिन्छ, जसलाई नेवारी भाषामा ‘पाउ’ भनिन्छ। जनबहालस्थित मन्दिरबाट करुणामय तथा आर्यअवलोकितेश्वरका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी तीनधारामा तयार पारिएको रथमा प्रतिस्थापन गरेपछि नगर परिक्रमा गराइन्छ।
जात्राको मुख्य उद्देश्य काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउनु रहेको छ। रथलाई विभिन्न स्थान हुँदै परिक्रमा गराइने र अन्तिम दिन लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमालाई तीन पटक घुमाएपछि जात्रा सम्पन्न हुने परम्परा छ।
किम्वदन्तीअनुसार प्राचीन समयमा जमल क्षेत्रको खेतमा एक ज्यापुले खेत जोत्ने क्रममा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घरमा राख्दा धानको भकारी कहिल्यै नघट्ने चमत्कार देखिएपछि अन्नदाताको रूपमा पूजा गर्दै जनबहालमा स्थापना गरिएको विश्वास गरिन्छ।
उही ऐतिहासिक स्थल जमलमै आज पनि रथ निर्माण गर्ने चलन कायम छ। काठमाडौँ उपत्यकामा जमल, बनेपा र नालामा सेतो तथा ललितपुरको बुङमति र चोभारमा रातो मच्छिन्द्रनाथको पूजा गरिन्छ।
धार्मिक सहिष्णुताको प्रतीक मानिने सेतो मच्छिन्द्रनाथलाई शैवहरूले शिव, शाक्तहरूले शक्ति र बौद्ध महायान तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा रहिआएको छ।
