काठमाडौं — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै पदबहाली गरेका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले शपथ लिएपछि कार्यभार सम्हालेका हुन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। नवगठित मन्त्रिपरिषद्मा विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुमन श्रेष्ठ गृह, शिशिर खनाल परराष्ट्र, सुनिल शर्मा भौतिक पूर्वाधार तथा यातायात, विराज भक्त श्रेष्ठ ऊर्जा, खडक राज पौडेल संस्कृति, सिमोन पोखरेल शिक्षा, निशा मेहता स्वास्थ्य, विक्रम तिमिल्सिना सञ्चार, प्रतिभा रावल संघीय मामिला, सविता गौतम कानुन, गीता चौधरी कृषि, दीपक कुमार साह श्रम तथा सीता वादी महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्।
पदबहालीसँगै प्रधानमन्त्री शाहले मन्त्रीहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रमुखहरूलाई सुशासन, पारदर्शिता र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।
नयाँ सरकारलाई मुलुकमा पुस्तान्तरणको राजनीतिक परिवर्तनको रूपमा हेरिएको छ। युवा नेतृत्वको उदयसँगै सुधार, सुशासन र आर्थिक पुनरुत्थानप्रति अपेक्षा बढेको छ।
