नेपालका तीन पूर्वप्रधानमन्त्रीहरू र दुई पूर्वमन्त्रीसहित उनीहरूका परिवारको सम्पत्तिमाथि कानुनी अनुसन्धान सुरु भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको चल–अचल सम्पत्तिको स्रोत खोजी गरिरहेको छ।
यसै सिलसिलामा आइतबार बिहान नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानीलकण्ठस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको छ।
विभागले प्रारम्भिक छानबिनमा कैफियत भेटिएका विशिष्ट व्यक्तिहरूलाई दायरामा ल्याउन निर्देशन दिएसँगै प्रहरीले पूर्वमन्त्री आरजु राणा देउवा र उनका भाइ भूषण राणामाथि पनि निगरानी बढाएको छ।
पक्राउ परेका खड्कालाई आजै अदालत उपस्थित गराएर म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
