स्व. चैतन्यलाल श्रेष्ठले आफ्नो जीवनकालदेखि नै सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँ नेपालमा १० वर्षसम्म पदयात्रा गर्ने पहिलो पदयात्री तथा वरिष्ठ समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो।
उहाँको सामाजिक सक्रियताको एउटा ऐतिहासिक प्रमाणका रूपमा वि.सं. २०१३ सालतिर चोसापाचाबाट उहाँलाई पठाइएको पुरानो निमन्त्रणापत्रसमेत परिवारसँग सुरक्षित रहेको छ। उक्त पत्रले त्यस समयदेखि नै उहाँ सामाजिक तथा सामुदायिक गतिविधिमा संलग्न रहँदै आएको देखाउँछ।
त्यतिबेला उहाँका बुवा विभिन्न सामाजिक कार्यक्रमको व्यवस्थापनदेखि अतिथिका रूपमा निमन्त्रणा स्वीकार गरी सहभागी हुने गर्नुहुन्थ्यो। आज उहाँकै कान्छा सुपुत्र गणपतिलाल श्रेष्ठ पनि र्याली व्यवस्थापन तथा संयोजनलगायत सामाजिक कार्यमा सक्रिय रहनुभएको छ।
त्यस्तै, गणपतिलालका दाजु रञ्जनलाल श्रेष्ठ नेपाल स्काउटअन्तर्गत काठमाडौं महानगरपालिकाका स्थानीय स्काउटका प्रमुख आयुक्त हुनुहुन्छ। उहाँले पनि उक्त र्याली व्यवस्थापनमा स्काउट परिचालन संयोजकको जिम्मेवारी सम्हाल्नुभएको छ।
यसरी हिजो बुवाले सम्हाल्नुभएको सामाजिक जिम्मेवारी र सक्रियतालाई आज छोराहरूले फरक–फरक भूमिकामार्फत निरन्तरता दिइरहेका छन्। श्रेष्ठ परिवारको यो सक्रियता सामाजिक सेवाप्रतिको पुस्तान्तरणको एउटा उदाहरण बनेको छ।
