बढ्दो गर्मीले जनजीवन प्रभावित: तराई र उपत्यकासहित विभिन्न भू-भागमा ‘लु’ को सम्भावना

काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भू-भागमा अत्यधिक गर्मी बढ्ने जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा तातो दिन (Heat Wave) को सम्भावना रहेको छ। पछिल्ला केही दिनयता तापक्रममा निरन्तर वृद्धि भइरहेकाले जनजीवन प्रभावित बन्ने देखिएको छ।

देशका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि अधिकांश स्थानमा गर्मी अत्यधिक रहने अनुमान गरिएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै महाशाखाले पर्याप्त पानी पिउन, हल्का र उज्यालो रङका कपडा प्रयोग गर्न तथा घाममा निस्कँदा टोपी वा छाताको प्रयोग गर्न सुझाएको छ। विशेषगरी बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीहरूको हेरचाहमा विशेष ध्यान दिन र घाममा लामो समय काम गर्नुपरे बीच-बीचमा आराम गर्न आग्रह गरिएको छ।

यसैबीच, आज कोशी प्रदेश लगायत बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। आगामी दुई दिनसम्म पनि कोशी लगायतका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि तराई क्षेत्रमा भने मौसम सफा रहने र गर्मी कायमै रहने महाशाखाले जनाएको छ।