आज अक्षय तृतीया: शुभ कार्यको थालनी र दान-धर्मको महाउत्सव

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। हिन्दू परम्परामा यस दिनको अत्यन्तै ठूलो धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ।

‘अक्षय’ भन्नाले कहिल्यै नाश नहुने वा क्षय नहुने बुझिन्छ, तसर्थ यस दिन गरिएको दान, धर्म, जप, तप र उपासनाको फल कहिल्यै समाप्त नहुने शास्त्रहरूमा उल्लेख छ।

वर्षका चारवटा अबुझ मुहूर्तमध्ये एक मानिने अक्षय तृतीयालाई कुनै पनि शुभ कार्यको थालनी गर्नका लागि अति उत्तम र स्वयंसिद्ध समय मानिन्छ।

धार्मिक मान्यता अनुसार यस दिन भगवान् विष्णुका अवतारहरू परशुराम, नर-नारायण र हयग्रीवको धर्तीमा प्राकट्य भएको थियो। विशेषगरी परशुराम जयन्तीका रूपमा समेत मनाइने यस तिथिमा त्रेतायुगको प्रारम्भ भएको मानिन्छ।

साथै, यसै दिन वृन्दावनको बाँके बिहारी मन्दिरमा भगवानको चरण दर्शन गर्ने अवसर मिल्छ भने बद्रीनाथ मन्दिरको ढोका पनि यसै दिन खोलिन्छ। ज्योतिषीय दृष्टिकोणले यस दिन सूर्य र चन्द्रमा दुवै उच्च राशिमा रहने हुनाले विवाह, नयाँ कारोबारको सुरुवात, गृहप्रवेश, पदभार ग्रहण र सवारी साधन खरिदजस्ता मंगल कार्यका लागि पञ्चांग हेरिरहनु पर्दैन।

अक्षय तृतीयाका दिन सातु र सर्वत खाने/खुवाउने नेपाली परम्परा रहेको छ। गर्मी मौसमको अनुकूलतालाई ध्यानमा राखी जौ, गहुँ, चना, दही, चामल, उखुको रस, जलले भरिएको घडा, पंखा, छाता, जुत्ता र वस्त्र दान गर्नु यस दिनको मुख्य विशेषता हो।

पौराणिक कथाअनुसार द्वापर युगको अन्त्य र महाभारत युद्धको समाप्ति पनि यसै दिन भएको मानिन्छ। मनले आँटेका कार्यहरू सफल पार्न, रोकिएका कामहरू अघि बढाउन वा आर्थिक समस्याबाट मुक्ति पाउनका लागि पनि अक्षय तृतीयाको व्रत र पूजन अति फलदायी मानिन्छ।