अन्तर्राष्ट्रिय बजारको दबाब: स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा व्यापक गिरावट

नेपाली बजारमा पछिल्लो केही दिनदेखि ओरालो लागेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य एक हजार ८०० रुपैयाँले घटेको हो । मङ्गलबार तीन लाख एक हजार ३०० रुपैयाँ र बुधबार तीन लाख पाँच हजार रुपैयाँमा कारोबार भएको सुन आज थप सस्तिएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि आज भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला पाँच हजार २० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा ११० रुपैयाँ कम हो । मङ्गलबार पाँच हजार १६० र बुधबार पाँच हजार १३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेको हो । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको मूल्य शृङ्खलाले नै नेपालमा पनि सुनचाँदीको मूल्य निर्धारण गर्ने गरेको व्यवसायीहरू बताउँछन् ।