काठमाडौं, १० वैशाख – त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबारदेखि सुरु भएको ‘रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३’ मा विभागीय टोलीहरू नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्।
महिलातर्फको पहिलो खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै सुखद सुरुवात गर्यो। प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २५-२३ ले जितेको एपीएफ दोस्रो सेटमा १७-२५ ले चुके पनि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो र चौथो सेट समान २५-१९ को स्कोरमा आफ्नो पक्षमा पार्न सफल भयो।
त्यसैगरी, अर्को खेलमा साविक विजेता नेपाल पुलिस क्लबले बुटवलको एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हरायो। निकै प्रतिस्पर्धात्मक देखिएको पहिलो सेट २६-२४ ले जितेको पुलिसले बाँकी दुई सेट २५-१६ र २५-१७ ले सहजै आफ्नो नाममा लेखायो। उक्त खेलमा नेपाल पुलिस क्लबकी उषा भण्डारी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्। जारी लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ उत्कृष्ट टोलीहरूले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्।
