काठमाडौं — बुढानीलकण्ठ नगरपालिकाले नेवाः समुदायका वरिष्ठ पत्रकार तथा साहित्यकार मल्ल के. सुन्दरलाई बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठानको कुलपति/अध्यक्ष पदमा मनोनयन गरेको छ।
नगरपालिकाद्वारा जारी जानकारी अनुसार, बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० को दफा १२ को उपदफा (१) बमोजिम सिफारिस समितिको आधारमा तथा दफा ७ को उपदफा (२) अनुसार उहाँलाई उक्त पदमा नियुक्त गरिएको हो। यो निर्णय मिति २०८२ चैत २७ गते सम्पन्न ८३औँ नगर कार्यपालिका बैठकबाट गरिएको हो।
ऐनको दफा ७ को उपदफा (४) अनुसार अध्यक्षको पदावधि तोकिएको अवधिसम्म रहने जनाइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले नियुक्तिको जानकारी दिँदै मल्लले प्रतिष्ठानको उद्देश्य अनुरूप प्रचलित ऐन, कानून तथा कार्यविधिको अधीनमा रही कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
