रञ्जना लिपि प्रवर्द्धनमा वडा २३ को पहल, रेष्टुरेन्ट परिचय पाटी राख्न सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २३ ले मौलिक रञ्जना लिपिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित रेष्टुरेन्ट व्यवसायहरूको परिचय पाटीमा रञ्जना लिपि समावेश गर्ने अभियान सुरु गरेको छ।

बसन्तपुर नौतल्ले अगाडि, दमकल साइड, झोछेंदेखि ॐबहालसम्मका व्यवसाय दर्ता तथा नवीकरण भएका रेष्टुरेन्टमध्ये पहिलो चरणमा ५० वटा रेष्टुरेन्टमा मौलिक रञ्जना लिपिसहितको परिचय पाटी राख्ने कार्य सुरु गरिएको २३ वडाले जनाएको छ।

वडा क्षेत्र भित्र रहेका बाँकी रेष्टुरेन्ट व्यवसायहरूको नामसमेत चरणबद्ध रूपमा समेट्दै जाने योजना रहेको बताइएको छ। उक्त अभियानको संयोजन झोछें सामुदायिक समाज ले गरेको हो।

रञ्जना लिपिको प्रवर्द्धनमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको सक्रियमा भएको थियो । साथै मौलिक लिपिको रचनात्मक डिजाइनदेखि सम्पूर्ण व्यवस्थापनमा भने आनन्द के महर्जनले विशेष भूमिका निर्वाह गरेका थिए।

यस अभियानले लिपिको प्रवर्धन र संरक्षण गर्न ठूलो मद्दत पुग्ने अध्यक्ष मचा राजा महर्जनले जानकारी दिए। वडाको यस कार्यलाई स्थानीय बासिन्दाले स्थानीयवासीले सराहनीय कार्यका रूपमा लिएका छन्।