विश्वकप लिग-२: स्कटल्यान्ड द्वारा नेपाललाई २ सय ४४ रनको लक्ष्य

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत जारी एकदिवसीय ऋंखलाको पहिलो खेलमा नेपाललाई स्कटल्यान्डले २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनायो।

स्कटल्यान्डले मध्यम स्कोर बनाउने क्रममा ओपनरहरुले उत्कृष्ट साझेदारी गरेका थिए। ओपनर जर्ज मुन्सी र फिन्ले म्याकक्रेथले पहिलो विकेटका लागि १ सय १४ रनको साझेदारी गरे। तर उक्त साझेदारी सन्दीप लामिछानेले तोडेसँगै रनमा केही ब्रेक लागेको थियो। सन्दीपले मुन्सीलाई २०.३ ओभरमा ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरेर ७५ रन बनाउँदा आउट गराएका थिए। त्यस्तै उनले सोही ओभरको अन्तमि बलमा अर्का ओपनर फिन्ले म्याकक्रेथलाई ३५ रनमा आउट गरे।

स्कटल्यान्डका लागि थप दोहोरो स्कोरका रुपमा माइकल इंग्लिसले ३४ रनको अविजित इनिङ खेल्दा माइकल लिस्कले २९ रन बनाए। त्यस्तै म्याथ्यु क्रसले १८ रन बनाउँदा मार्क वाटले २४ रन बनाएका थिए।  यद्यपी नेपाली बलरहरुले डेथ ओभरमा कसिलो बलिङ गर्दै उच्च स्कोरबाट भने स्कटीस खेलाडीलाई रोक्न सफल भयो।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिंदा करण केसी र नन्दन यादवले समान २-२ विकेट लिएका थिए। टियू मैदान कीर्तिपुरमा नेपाल केही समय पछि जवाफि ब्याटिङका लागि मैदान उत्रिंदै छ।