कविकेशरी चित्तधर हृदयको १२० औं जन्मदिन भव्य रुपमा सम्पन्न

कविकेशरी तथा साहित्य शिरोमणि चित्तधर हृदयको १२० औं जन्मदिनको अवसरमा ने.सं. ११४६ अनलाथ्वः प्रतिपदा, आइतबार (२०८३ जेठ ३ गते) डब्लूडिबि, दैनिक कार्यक्रममा चित्तधर हृदयको सम्झनामा जूम प्रविधिबाट एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

डब्लूडिबि तथा वर्ल्ड नेवाः अर्गनाइजेशन, साहित्य विभागको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा ५१ वर्ष अघि निर्माण गरिएको चित्तधर हृदयको वृत्तचित्र भाषासेवी विनय राजोपाध्यायले प्रदर्शन गर्नुभएको छ ।

वर्ल्ड नेवाः अर्गनाइजेशनका केन्द्रीय अध्यक्ष मनोहर लाल श्रेष्ठले कार्यक्रममा सबैलाई स्वागत गर्नुहुँदै चित्तधर हृदय नेपाल साहित्य क्षेत्रमा ठूलो योगदान गर्नुभएको अविस्मरणीय ब्यक्तित्व रहेको विचार ब्यक्त गर्नुभयो ।

मूल वक्ताको रुपमा साहित्यकार लोचनतारा तुलाधरले चित्तधर हृदयले लेख्नुभएको ‘जिगु जातः’ पुस्तकको विषयमा विस्तृत रुपमा ब्याख्या गर्नुभयो ।

मन्तब्यको क्रममा– वहाँले आफ्ना गुरु योगवीर सिंहको यत्रतत्र छरिएका कविता संकलन तथा सम्पादन गरी ‘योगसुधा’ नामक पुस्तकको प्रकाशन गर्नुभएको कार्य ठूलो योगदान हो भन्नुभयो। यस कार्यक्रममा संगीतकर्मी सुरेन्द्र श्रेष्ठले चित्तधर हृदयका विषयमा नेपाःरत्न लोककवि राजभाइ जकःमिले रचना गर्नुभएको गीत पहिलो पटक लयवद्ध गरी सुनाउनु भएको छ ।

त्यसै गरी कार्यक्रममा गायक पवित्र कसाःले– चित्तधर हृदयको वृत्तचित्र तयार गर्नका लागि कवि नवीन चित्रकारले निकै मेहेनत गरी ऐतिहासिक पाइला चाल्नुभएको कुरा बताउनु भयो ।

अमेरिकाको शिकागोमा रहनुभएका चर्चित साहित्यकार केशरमान ताम्राकारले मन्तब्यका क्रममा– चित्तधरको ‘जिगु जातः’को एक भाग कल्पवृक्ष सर्वप्रथम ‘जः’ वार्षिक पत्रिकामा प्रकाशन गर्ने अवसर प्राप्त भएकोमा गौरभान्वित महसुस गर्नुभयो ।

साथै, यस कार्यक्रममा नेपालभाषा साहित्य दबूका अध्यक्ष नेपाःरत्न लोककवि राजभाइ जकःमिले चित्तधर हृदयको एक कविता बाचन गर्नुहुँदै चित्तधर हृदयको साहित्यिक योगदान बारे विस्तृत रुपमा आफ्ना विचार प्रस्तुत गर्नुभयो ।

त्यसै गरी, यस कार्यक्रममा डब्लूडिबिका संयोजक डा. नरेश शाक्यले अब डब्लूडिबि र नेपालभाषा साहित्य दबूको संयुक्त आयोजनामा नेपालभाषाका महारथीहरुका जन्मदिन मनाउने र वहाँहरुका कृतित्व प्रकाशन गर्ने कार्य सदा झै‌ निरन्तर अगाडि बढाइने कुरा ब्यक्त गर्नुभयो ।

यस कार्यक्रममा नेपालभाषा साहित्य दबूका उपाध्यक्ष कवियित्री प्रतिसरा साय्‌मिले– चित्तधरले लेख्नुभएको ‘यशोधराको काखमा राहुल’ नामक कविता बाचन गरी जूममा सहभागी हुनुभएका सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विद्या दलीले सञ्चालन गर्नुभएको यस जूम कार्यक्रममा वर्ल्ड नेवाः अर्गनाइजेशनका संरक्षक सिजन श्रेष्ठ, पौभाः साय्‌मि, अञ्जना ताम्राकार, शंकर लाल राजकर्णिकार, तीर्थमैँया श्रेष्ठ लगायतका विशेष सहभागिता रहेका थिए ।