ब्राजिलको विश्वकप टोलीमा छिरिछाडे नेयमार

काठमाडौं। चौथो पटक विश्वकप खेल्ने तयारीमा रहेका स्टार फरवार्ड नेयमार सोमबार ब्राजिलको विश्वकप टोलीमा परेका छन्।

केही दिनअघिसम्म उनको छनोट हुने सम्भावना कम रहेको भन्दै स्थानीय विश्लेषक र पूर्व फुटबलरहरूले अनुमान् गरेका थिए।

३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीका लागि ७९ गोल गरेका छन्।

तर, सन् २०२३ अक्टोबरमा बायाँ घुँडाको एसीएल चोट बोकेपछि उनी पूर्ण फिटनेसमा फर्किन संघर्षरत छन्। यस वर्ष उनले सान्तोसका लागि आठ खेल खेल्दै चार गोल र दुई असिस्ट गरेका छन्।

ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित पत्रकार सम्मेलनमा नेयमारको फिटनेसमा सुधार आएको बताए।

‘उनको फिटनेसमा सुधार भइरहेको छ। विश्वकपमा उनी हाम्रो लागि महत्त्वपूर्ण खेलाडी हुनेछन्,’ एन्सेलोटीले भने।

अनुभवी खेलाडीलाई टोलीमा प्राथमिकता दिएको उल्लेख गर्दै एन्सेलोटीले नेयमारको अनुभव टोलीका लागि उपयोगी हुने बताए।

‘पहिलो खेलअघि उनले अझ फिटनेस सुधार गर्न सक्छन्। यस्ता प्रतियोगिताको अनुभव उनीसँग छ। टोलीका खेलाडीहरू पनि उनलाई मन पराउँछन्, जसले टोलीको वातावरण राम्रो बनाउन मद्दत गर्छ,’ उनले थपे।

टोली घोषणा हुनुअघि नेयमारले आफ्नो इन्स्टाग्राम बायो पनि परिवर्तन गरेका थिए। उनले आफ्नो क्लब सान्तोससँगै ‘ब्राजिल’ थपेका थिए।

ब्राजिलको २६ सदस्यीय टोलीमा पछिल्ला वर्षका प्रमुख खेलाडी भिनिसियस जुनियर र राफिन्हा पनि समावेश छन्।

एन्सेलोटीले सन् २०२५ मेमा ब्राजिल टोली सम्हालेका थिए। त्यसयता उनले पहिलो पटक नेयमारलाई टोलीमा बोलाएका हुन्। गत साता उनले ब्राजिल फुटबल महासंघसँग २०३० विश्वकपसम्मको सम्झौता पनि थपेका थिए।

यद्यपि, चोटका कारण केही महत्त्वपूर्ण खेलाडी गुमाउनु एन्सेलोटीका लागि चुनौती बनेको छ। विशेषगरी फरवार्ड रोड्रिगो र एस्टेभाओको अनुपस्थितिले टोली कमजोर बन्न सक्ने अनुमान गरिएको छ।

ब्राजिलले जुन १३ मा न्यु जर्सीमा मोरक्कोविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा ब्राजिलसँगै हाइटी र स्कटल्यान्ड छन्।