युक्रेनमा कमजोर हुँदैछ रुस- ‘सी जिनपिङले देखिसके, अब ट्रम्पले पनि बुझ्नुपर्छ’

काठमाडौं । युक्रेन युद्धमा रुस क्रमशः कमजोर बन्दै गएको र चीनका राष्ट्रपति सी जिनपिङले त्यो वास्तविकता बुझिसकेको भन्दै अमेरिकामा डोनाल्ड ट्रम्पमाथि आन्तरिक दबाब बढेको छ ।

सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै पनि रुसप्रति नरम दृष्टिकोण राखिरहेको भन्दै त्यसले अमेरिकी रणनीतिमा असर पार्न सक्ने चेतावनी दिइएको छ ।

युक्रेन युद्धको दलदलमा फसेको बुझेका सी जिनपिङले भ्लादिमिर पुटिनलाई यो दलदलबाट बाहिरिन अप्रत्यक्ष दबाब दिएको बताइएको छ । ट्रम्प फर्केलगत्तै पुटिन अहिले बेइजिङमा छन् ।

सीएनएनका अनुसार, लामो युद्ध, आर्थिक प्रतिबन्ध, सैन्य क्षति र बढ्दो आन्तरिक दबाबका कारण रुसको शक्ति कमजोर हुँदै गएको संकेत देखिएको छ ।

युक्रेनले पश्चिमी सैन्य सहयोगको सहारामा प्रतिरोध जारी राख्दा मस्को अपेक्षित रणनीतिक सफलता हासिल गर्न संघर्षरत रहेको रिपोर्टमा उल्लेख छ । अहिले रुस युद्धमा थाकेको आँकलन गरिएको छ ।

 

सी जिनपिङको बदलिँदो गणित

विश्लेषणअनुसार, चीनले रुसलाई सार्वजनिक रूपमा साथ दिए पनि बेइजिङ अब युद्धको दीर्घकालीन परिणामबारे बढी सावधान बनेको देखिन्छ।

सी जिनपिङले रुसको कमजोरीलाई ध्यानपूर्वक नियालिरहेको र चीन आफ्नो हितअनुसार दूरी तथा निकटताको सन्तुलन मिलाउन खोजिरहेको सीएनएनले जनाएको छ।

ट्रम्पमाथि प्रश्न

रिपोर्टमा ट्रम्पले रुस- युक्रेन युद्धलाई छिटो अन्त्य गर्ने दाबी गर्दै आएका भए पनि उनले भ्लादिमिर पुटिनप्रति नरम भाषा प्रयोग गर्ने गरेको उल्लेख छ।

विश्लेषकहरूले यदि वासिङ्टनले रुसको वास्तविक अवस्थालाई गलत मूल्यांकन ग¥यो भने त्यसले अमेरिका र उसका साझेदारहरूको रणनीतिक हितमा असर पार्न सक्ने बताएका छन्।

चीन-अमेरिका प्रतिस्पर्धासँग जोडिएको युद्ध

सीएनएनका अनुसार, युक्रेन युद्ध केवल युरोपको सुरक्षा संकट मात्र नभई चीन-अमेरिका शक्ति प्रतिस्पर्धासँग पनि जोडिएको छ।

रुसको प्रदर्शनले ताइवान, एशिया-प्रशान्त रणनीति र भविष्यका भूराजनीतिक समीकरणमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ। विश्वमा भइरहेका पछिल्ला युद्धले अमेरिकालाई घाटा र चीनलाई अघि बढ्न मार्ग प्रशस्त गरेका छन् ।