काठमाडौं महानगरपालिकाले विश्व चलचित्र उद्योगको केन्द्र मानिने फ्रान्सको कान्स सहरसँग आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहको पूर्वसन्ध्यामा कान्सका मेयर डेभिड लिसनार्डले काठमाडौंकी कार्यवाहक मेयर सुनिता डंगोललाई सिटी हलमा विशेष सम्मानका साथ स्वागत गरेसँगै दुई देशका प्रमुख सहरहरूबीच नयाँ सहकार्यको ढोका खुलेको हो।
युनेस्कोले ‘क्रियटिभ सिटी’ को मान्यता दिएका काठमाडौं र कान्स सहरका नेतृत्वबीच होटल डे भिल्लेमा भएको यो द्विपक्षीय भेटवार्ता केवल एक शिष्टाचार भेट मात्र नभई नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा कोशेढुङ्गा बनेको छ। यो अवसरले काठमाडौंलाई विश्वभरका स्थापित फिल्म सहरहरूसँग समकक्षता कायम गर्दै आफ्नो सांस्कृतिक र चलचित्रगत सामर्थ्य प्रदर्शन गर्ने अभूतपूर्व मञ्च प्रदान गरेको छ।
काठमाडौं महानगरपालिकाले यस ऐतिहासिक आतिथ्य र सहकार्यको प्रस्तावका लागि मेयर लिसनार्डप्रति कृतज्ञता प्रकट गरेको छ। महानगरले कान्स सहरबाट सुरु भएको यो वैश्विक संवादलाई आगामी दिनमा ठोस सांस्कृतिक तथा व्यावसायिक साझेदारीमा बदल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
