सदनमा रोकिएनन् हर्क, सभामुखको चेतावनी- अभद्र व्यवहार रोक्नुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले सदनमा फेरि विरोध जनाएका छन्। सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सदनमा उठेको प्रश्नको जवाफ दिएपछि प्रतिप्रश्न सोध्न पाउनुपर्ने भन्दै उठेर विरोध जनाएका हुन्।

तर उनलाई सभामुखले बोल्न समय दिएनन्। मन्त्रीले सभाको विभिन्न समयमा उठेका प्रश्नहरूको जवाफ दिएको भन्दै स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी गराए।

उनले भने, ‘आज दुइटा मन्त्रालयबाट दुईजना मन्त्रीज्यूहरूले प्रश्नको उत्तर दिनुभयो। त्यसमा छुटेका कुराहरू फेरि पनि हामी सभाको आवश्यकता अनुसारमा जवाफ दिनेछौँ भनेर मन्त्रीज्यूहरूले आफ्नो रोस्टमबाट स्पष्ट पारिसक्नुभयो।’

त्यति गर्दा पनि हर्क रोकिएनन्।

सभामुखले चेतावनी दिँदै भने, ‘मैले माननीय सदस्यलाई फेरि भनेको छु। आज तीनचोटी रुलिङ गरिसकेको छु। मर्यादामा बस्नुहोस्। आफ्नो स्थानमा बस्नुहोस्। हरेक दिन माननीय सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानुन, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ।’

उनले सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार गरिरहेको बताए। उनले प्रतिनिधिसभाको नियमावलीको नियम २१ को खण्ड क प्रति ध्यानाकर्षण गराए।